एमाले केन्द्रीय कमिटी बैठक आज, १० बुँदे लागू गर्नेदेखि नेतालाई कारबाहीसम्मका एजेण्डा
काठमाडौँ : प्रमुख प्रतिपक्षी नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दै छ । तुल्सीलाल स्मृति प्रतिष्ठानमा मध्यान्ह १२ बजेका लागि बैठक बोलाइएको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । बिहीबार वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी विभाजन गरेपछि पहिलो पटक केपी ओली नेतृत्वको एमालेको केन्द्रीय कमिटी बैठक बस्न लागेको हो ।
दुई दिनअघि तेस्रो धारका नेताहरुसहित बसेको स्थायी कमिटी बैठकले आजको बैठक तय गरेको थियो। बैठकमा पार्टी विभाजनपछिको परिस्थितिको समीक्षा, पार्टीको आगामी रणनीति र दल अदलबदललाई कसरी रोक्ने भन्ने विषयमा रणनीति बनाइने कार्यसूची छ। त्यसैगरी संगठनात्मक विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ।
तामाङका अनुसार पार्टी विभाजनको पक्षमा उभिएकाहरूविरुद्ध कारबाही प्रक्रिया पनि केन्द्रीय कमिटी बैठकले नै अघि बढाउने छ । नयाँ पार्टीका लागि खनाखत गर्न पुगेका तर सनाखत गर्न नपाएका चार जना सांसदको हकमा पनि आज छलफल हुने उनले बताए ।
यसैगरी महाधिवेशका सन्दर्भमा यसअघि स्थायी कमिटीमा भएका छलफल तथा निर्णयहरू पनि केन्द्रीय कमिटी बैठकका एजेण्डा भएको छ। एमाले र माओवादी मिलेर बनेको तत्कालीन नेपाल कम्युनिस्ट पार्टी हुँदै सुरु भएको विवाद एमाले विभाजनसम्म आइपुगेको छ।