Publi Readers
All about truth & reality in surrounding & in universe.

हृदयेश त्रिपाठी पनि नयाँ पार्टी खोल्ने अभियानमा

174

नेपालगन्ज । स्वतन्त्र राजनीतिक समूहका संयोजक तथा पूर्वमन्त्री हृदयेश त्रिपाठीले पनि नयाँ पार्टी खोल्ने भएका छन् ।
अवधि पत्रकार संघ नेपालले बुधबार नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता त्रिपाठीले आगामी निर्वाचनसम्म नयाँ दल दर्ता भइसक्ने जानकारी गराए । नयाँ पार्टीको नाम समाजवादी पार्टी रहने पनि उनले बताए । माधवकुमार नेपाल नेतृत्वको नवगठित दल, महन्थ ठाकुरको पार्टी र उपेन्द्र यादवको दलको नाममा पनि समाजवादी जोडिएको छ ।
त्रिपाठीले भने, ‘हामी कुनै पार्टीमा समावेश हुने वा एकीकरण प्रक्रियामा जान्नौं । आउँदो चुनावसम्म पार्टी छुट्टै पार्टी हुनेछ । आफ्नै दलको निर्वाचन चिन्हबाट उम्मेदवारी दिन्छौं ।’
नेकपा एमालेको निर्वाचन चिन्हबाट सांसद निर्वाचित भएर मन्त्रीसमेत भएका नेता त्रिपाठीले नयाँ पार्टी गठनको अन्तिम चरणमा पुगेको बताए । ‘पार्टीको नाममा समाजवादी शब्द राख्ने सहमति भएको छ । चार÷पाँच वटा नामबारे छलफल जारी छ । चाँडै टुंगोमा पुग्छौं’, उनले थपे, ‘दलको राजनीतिक प्रस्ताव, आर्थिक नीति, सामाजिक र सांस्कृतिक पक्ष कस्तो हुने भन्ने टुंगो लागिसकेको छ ।’
देश बनेपछि मधेशका समस्या पनि हल हुने उनको जिकिर थियो । ‘मधेशका समस्या भनेको देशकै समस्या हो । जबसम्म देश बन्दैन, तबसम्म मधेशका समस्या हल हुन सक्दैनन् । यही हाम्रो पार्टीको ठम्याइँ हो’, त्रिपाठीले भने, ‘३ दशक लामो मधेश आन्दोलनको क्रममा धेरै क्षति भयो तर प्रतिफल आएन । देशका हरेक समस्या समाधान गर्दा मधेशका समस्या पनि समाधान हुनेछन् ।’
उनले क्षेत्रीय दल अर्थात मधेशका नाममा मात्र आफ्नो दल नहुने पनि स्पष्ट पारे । त्रिपाठीले पार्टीले किसानका मुद्दालाई बढी प्राथमिकता दिने र तराई, पहाड र हिमालका किसानको प्रतिनिधित्व हुने गरी दलले काम गर्ने दाबी गरे । पार्टीमा पश्चिम मधेशका नेताहरुको बाहुल्यता हुने भएपनि दलको चरित्र मधेश केन्द्रित मात्र नभएर देशैभरीलाई समेट्ने हुने उनको भनाइ थियो । सैद्धान्तिक विमतिमा भन्दा व्यक्तिगत कारणले दल विभाजन हुनुलाई दुर्भाग्यपूर्ण मान्दै नेता त्रिपाठीले दलहरुबीच बढेको तिक्तताले देश दुर्घटनामा जाने खतरा औंल्याए ।

Leave A Reply

Your email address will not be published.