Publi Readers
All about truth & reality in surrounding & in universe.

स्वस्थ हुनुको रहस्य : राजेन्द्र प्रसाद कोईराला

36

स्वस्थ हुनुको रहस्य

koirala-1.jpg

  • राजेन्द्रप्रसाद कोइराला

स्वास्थ्य भनेको के हो ? धेरै विद्वान् चिकित्सक, स्वास्थ्य चिकित्सक, स्वास्थ्य आविष्कारक, स्वास्थ्य पत्रकार र महान् विचारकहरूले यस प्रश्नमा प्रकाश पार्ने प्रयास गरेका छन् । सबैको एउटै निष्कर्ष छ–राम्रो जीवनको लागि स्वास्थ्य र  जीवनमा सफलता प्राप्त गर्न स्वस्थ शरीर चाहिन्छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार स्वास्थ्य भनेको शारीरिक, भावनात्मक, मानसिक अवस्था सम्पूर्णरूपले ठीक हुनु हो ।”

शारीरिक स्वास्थ्य समग्र स्वास्थ्यको अनिवार्य अङ्ग हो । व्यक्ति, जसमा शारीरिक तन्दुरूस्तीदेखि सबै कुरा समावेश हुन्छ । स्वास्थ्यका अन्य आयाम भन्नाले सामाजिक, आध्यात्मिक, भावनात्मक, बौद्धिक, व्यावसायिक, वातावरणीय र मानसिक तन्दुरूस्ती ।

 ‘शरीर माद्यं खलु धर्म साधनम्’ अर्थात् शरीर नै वास्तविक धर्मको साधन हो । शरीरविना हामी कुनै काम गर्न सक्दैनौं । संसारका सम्पूर्ण काम यही शरीरद्वारा सम्पन्न हुन्छ । शरीर छ र नै हाम्रो जीवन छ, अन्यथा न हामी रहने छौं, न हाम्रो जीवन नै रहने छ । हाम्रो शरीर जति स्वस्थ रहन्छ, त्यति नै हाम्रा व्यवहारहरू स्वस्थ रहन्छन् । स्वस्थ शरीरबाट मात्रै स्वस्थ समाज र संसारको निर्माण सम्भव छ । अस्वस्थहरूबाट कुनै पनि काम सम्पन्न हुन सक्दैन । जो व्यक्ति आफै रुग्ण छ, अस्वस्थ र अस्थिर छ उसले स्वस्थ, निरोग र स्थिर समाजको निर्माणमा कहिल्यै योगदान गर्न सक्दैन । हाम्रो प्राचीन समाजका आचार्यहरू, त्यसैले स्वस्थ जीवनका लागि सदैव सचेत रहन्थे र तदनुकूल जीवनयापनका लागि योग, ध्यान र खानपानमा विशेष सतर्क देखिन्थे ।

 ‘स्वस्थ’ शब्दको अर्थ ‘स्वयंमा रहनु’ हो । ‘स्व’ को अर्थ स्वयं वा आफू  हो भने ‘स्थ’ शब्दको अर्थ रहनु हो । यसरी हेर्दा जो व्यक्ति स्वयंमा रहन्छ उसलाई नै स्वस्थ मान्न सकिन्छ । अब आफैंमा रहनु भनेको के त ? स्वयंमा रहनु भनेको आफ्नो अस्तित्वमा रहनु भनेको हो । मान्छेको आफ्नै अस्तित्व र मूल्य छ । हाम्रो जीवनका आफ्नै परिचय र पहिचानहरू छन् । हरेक व्यक्ति स्वयंमा अत्यन्त मौलिक र पवित्र छ । यही आफूमा भएको खुबी, मौलिकता, पवित्रता र प्रेमको अस्तित्वमा रहनु भनेको नै स्वस्थ रहनु हो भनेर हाम्रा पूर्वजहरूले बताएका छन् ।

 ‘स्व’ शब्दभित्र धेरै कुराहरू पर्दछन् । खासगरी हामीलाई चिनाउने हाम्रा पहिचानहरू नै ‘स्व’ हुन् । हामी हुनु भनेको हाम्रो धर्म हुनु हो, हाम्रो भूगोल हुनु हो, हाम्रा मूल्य र मान्यताहरू हुनु हो । यिनै ‘स्व’हरूमा नरहनु भनेकै स्वस्थ हुनु हो । जब हामी अस्वस्थ हुन्छौं त्यसपछि हाम्रो अधोपतनको यात्रा आरम्भ हुन्छ । जीवन बोझ र तनावको केन्द्र बन्दछ ।

स्वास्थ्य शब्दले दिने पहिलो अर्थ हामी हाम्रो शरीरको गुण, प्रकृति र धर्ममा रहनु भन्ने हुन्छ । हाम्रो शरीर हामी जहाँ छौं त्यहींको माटो, पानी, हावा, चालचलन र रहनसहनले बनेको हुन्छ । हाम्रो भोजन, विश्राम, चिन्तन, श्रम आदि सबैको आफ्नै मौलिक पद्धति छ । हाम्रो यही मौलिक पद्धति कायम राख्ने र आफू पनि यही पद्धतिमा कायम रहने व्यवस्थालाई हामीले ‘स्वास्थ्य’ शब्दको अर्थ भनेर बुझ्नुपर्ने हुन्छ ।

स्वस्थ हुनुको अर्थ धार्मिक हुनु पनि हो । धर्म मान्ने वा धर्मलाई जीवनमा आत्मसात् गर्ने व्यक्तिलाई धार्मिक भनिन्छ । पानीको धर्म शीतलता हो, खुर्सानीको धर्म पिरो हो । पानीले जुन दिन आफ्नो चिसोपन छोडिदिन्छ, त्यस दिन ऊ अधार्मिक हुन्छ । पिरोपन छोडेको दिन खुर्सानी पनि खुर्सानी रहँदैन । पिरोपन हुन्जेल खुर्सानी स्वस्थ हुन्छ र धार्मिक पनि हुन्छ । पिरो धर्मलाई कायम राखेको हुनाले धार्मिक र त्यही पिरोपनमा कायम रहेका हुनाले स्वस्थ पनि ।

धर्म नमान्नेहरू सबै रोगी हुन्छन् । धर्म शब्दको अर्थलाई पूजापाठ र कर्मकाण्डको सङ्कीर्णताभित्र कैद गरेर राखेका छौं हामीले । धर्म भनेको विशाल हुन्छ । आफ्नो पहिचानमा बस्न नसक्ने व्यक्ति के रोगी होइन ? पानी माछाको पहिचान हो । उसको जीवन भन्नु नै पानी हो । पानीबाट बाहिर निस्केपछि के माछो जीवित रहन सक्छ ? अवश्य सक्दैन । हरेक मानिसको, देशको, समाजको र परिवेशको निश्चित धर्म हुन्छ । सबैको धर्म एउटै हुँदैन । पिरोपन खुर्सानीको मात्र धर्म हो । यो पिरो धर्म मान्छु भनेर पानी, आलु, टमाटर, पिंडालु आदिले भने के होला ? खुर्सानीको पिरोपनसँग पोइल गएका दिन आलु, टमाटर र पिंडालुको जीवन निरर्थक बन्न पुग्छ ।

जसले आफ्नो मूल्य छोड्दछ, आफ्नो अस्तित्व छोड्दछ त्यो व्यक्ति कहिल्यै प्रसन्न हुँदैन, कहिल्यै सन्तुलित र सुखी हुँदैन । यसैले स्वस्थ शब्दले आफ्नोपन, पहिचान र परिचयमा स्थिर रहेर प्रसन्न रहने मानिस भन्ने बुझाउँछ । धर्म शब्दको पनि अर्थ यही नै हो । हाम्रा आफ्नै मूल्य छन्, केवल हाम्रा लागि, प्रकृतिले व्यवस्था गरेको । हाम्रा आफ्नै पहिचान छन्, सृष्टिको आदिकालदेखि नै उपलब्ध । हामी तिनै उपलब्धिहरूमा कायम रहनु भनेकै धार्मिक बन्नु हो । यसरी, धर्म र स्वास्थ्य समानार्थी हुन् भने स्वस्थ र धार्मिक समानार्थी हुन् ।

सगरमाथाजत्तिकै वा त्योभन्दा पनि पुरानो छ, हिन्दू धर्म । बुद्ध, जनक, सीता र भृकुटीभन्दा धेरै पुरानो छ, हाम्रो हिन्दू धर्म । आज हामी यहीं धर्मनिरपेक्ष भएका छौं । हाम्रो देशको नसा–नसामा जुन धर्मको रगत बगेको छ, हाम्रो देशको अङ्ग–अङ्ग जुन धर्मको रगतले बनेका छन् त्यही धर्मलाई छोडेर हामी निरपेक्ष हुने तयारी गरिरहेका छौं । यही नै हामी अस्वस्थ हुनु हो, रुग्ण हुनु हो ।

 ‘न स्वस्थ इति अस्वस्थ’ अर्थात् जो स्वयंमा रहँदैन ऊ अस्वस्थ हो । स्वयंमा नरहनुको अर्थ मान्छे मानवीय स्वभाव, धर्म, गुण, गरिमा र मूल्यबाट च्युत हुनु हो । मान्छे जन्मैले पवित्र हुन्छ, आनन्दित हुन्छ । हरेक व्यक्तिले जन्मना साथ शोक, पिर, चिन्ता, दुःख, रोग आदि एकैपटक बोकेर आएको हुँदैन । ऊ खाली जन्मेको हुन्छ । पवित्र र निर्मल जन्मेको हुन्छ । यद्यपि, आजका बालबालिका अस्वस्थ र रुग्ण बाबुआमाका सन्तानका रूपमा गर्भबाट नै विभिन्न रोगहरू बोकेर जन्मन थालेका छन्, तापनि तुलनात्मकरूपमा केटाकेटीहरू वयस्क र प्रौढभन्दा स्वस्थ, पवित्र र निर्मल हुन्छन् ।

 ‘स्वास्थ नै धन हो’ भनेर त्यसै भनिएको होइन । आफ्नोपनमा रहने बानी नै धन हो । आफ्नोपनबाट गिर्नु, आफ्नो अनुशासनबाट भाग्नु र अनियमिततामा जिउने प्रयत्न गर्नु अस्वस्थ हुनु हो । स्वास्थ्य भनेको मनुष्य आफ्नो वास्तविक शारीरिक र मानसिक स्वभावमा रहने बानीको नाम हो ।

रुग्णताको सबैभन्दा पहिलो कारण आफ्नो शक्ति, स्वभाव, क्षमता, शैली र परिवेशबाट टाढा भाग्नु हो । आज अधिकांश मानिस रोगी छन् र उनीहरूको रोगको मूल कारण पनि यही नै हो । हाम्रो शरीर र मस्तिष्कको आफ्नै अनुशासन छ । जहिलेसम्म हामी शरीर र मनको यो अनुशासनलाई जीवनमा अवलम्बन गरिहन्छौं, त्यस अवस्थासम्म हामी स्वस्थ रहन्छौं र हाम्रो जीवन सुखमय रहन्छ । जुन दिनदेखि हामी शारीरिक र मानसिक अनुशासनको उपेक्षा गरी अराजक जीवनशैली अँगाल्छौं, त्यस दिनदेखि हाम्रो अस्वस्थताको यात्रा आरम्भ हुन्छ ।

स्वास्थ नै सम्पूर्ण खुशी र आनन्दको एक मात्र स्रोत भएको कुरा हामीले थाहा पाइसक्यौं । किनभने जो आफूमा  रहन्छ, आफ्नोपनमा रहन्छ उसले नै सुख पाउँछ । तर आज यस्तो हुन सकिरहेको छैन । हाम्रो व्यक्तिगत एवं सामाजिक दुवै जीवन अस्वस्थ छन् । हाम्रो देश पनि अस्वस्थ छ, किनभने यस देशको राजनैतिक तहमा क्रियाशील कुनै पनि नेताले यहाँको माटो, हावा, पानी, वनजङ्गल र खोलानालालाई ध्यान दिएन । यहींको मौलिकतामा आधारित दर्शन, मूल्य र राजनैतिक संस्कारभन्दा उत्तर र दक्षिणतिरबाट आयातित राजनैतिक संस्कार र व्यवहारमा जोड दिइएको छ ।

क्यान्सर, एड्स, बर्डफ्लु, म्यानेन्जाइटिसलगायत रोगहरू आयातित जीवनशैलीका परिणाम हुन् । नेपाली मौलिकतामा बाँच्न सकेको भए हामी कोही यी रोगहरूका सिकार हुने थिएनौं । हाम्रो जीवनशैलीले भन्छ– दैनिक स्नान गर । मलमूत्रको नियमित विसर्जनका लागि सुपाच्य र सात्विक भोजनमा जोड देऊ, शरीर र मस्तिष्कमा उत्तेजना बढाउने पिरो, अमिलो, बढी मसला, मादक पदार्थ सेवन नगर । चुरोट, बिंडी, सुर्ती, रक्सी भुलेर पनि ग्रहण नगर । पानी प्रशस्त पिउने गर । नियमित योग, ध्यान, आसन, प्राणायाममा समय खर्च गर । ईश्वरप्रति आस्थावान् बन र प्रतिपल सबै प्रकारका सांसारिक भय, त्रास र तनावबाट मुक्त रहने प्रयास गर ।

अन्त्यमा,

हाम्रो जीवन भनेको पवित्रता, अनुशासन, त्याग र आनन्दको प्रतिविम्ब हो । मान्छे यिनै गुणमा रहनु नै स्वस्थ रहनु हो । त्यसैले, हामीले यति महत्वपूर्ण जीवनलाई स्वस्थ भएर सार्थक बनाउने प्रयास गरौं । राम्रो स्वास्थ्य भनेको रोग र रोगी हुनबाट मुक्त हुनु हो । यो हाम्रो लागि उद्देश्यपूर्ण जीवन जिउनको लागि प्रकृतिको महँगो उपहार हो । साथै, राम्रो स्वास्थ्य भनेको हामीले थकित नभई आफ्नो क्षमताभन्दा बढी काम गर्न सक्नु पनि हो ।

( साभार : प्रतिक दैनिक )

Leave A Reply

Your email address will not be published.