काठमाडौँ : अफगानिस्तानको राजनीतिक अवस्थाबारे पाँचजना पूर्वराजदूतहरुले नेपाल सरकारको ध्यानाकर्षण गराएका छन् । उनिहरूले अफगानिस्तानको राजनीतिक घटनाक्रमका कारण उत्पन्न चुनौतीहरुलाई सम्बोधन गर्न तुरुन्तै सरोकारवाला देशहरुसँग वार्ताको पहल गर्न आग्रह गरेका हुन ।
रुसका लागि पूर्वराजदूत हिरण्यलाल श्रेष्ठ, भारतका लागि पूर्वराजदूतहरू दीपकुमार उपाध्याय र दुर्गेशमान सिंह, अमेरिका र बेलायतका लागि पूर्वराजदूत सुरेश चालिसे र चीनका लागि पूर्व नेपाली राजदूत महेश मास्केले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै अफगानिस्तानमा तालिबानको राजनीतिक अग्रसरता सार्क सदस्य राष्ट्रहरुको लागि चासो र चिन्ताको विषय भएको उल्लेख गरेका छन् ।
अफगानिस्तानमा तालिबानको राजनीतिक अग्रसरता सार्क सदस्य राष्ट्रहरुको लागि चासो र चिन्ताको विषय भएको छ । त्यहाँ विकसित भैरहेको स्थितिले यो क्षेत्रको सामाजिक, आर्थिक, आप्रवासन र सुरक्षा मामलामा दूरगामी परिणाम पर्ने निश्चित छ । यद्यपि तालिबानले अफगानिस्तानमा आममाफीको घोषणा गरेको छ, महिलालाई काम, स्कुलमा फर्कन र सरकारमा सहभागी हुन आह्वान गरेको छ र देशको शासनको लागि अन्य समूहहरुसँग वार्ता गरी समाधान निकाल्नको लागि काम गरिरहेको छ।
तर उनीहरुले मान्यता पाउनको लागि अन्तर्राष्ट्रिय समुदायलाई गरेको अपिल सत्तामा रहँदाको उनीहरुकै विगतको व्यवहार र वर्तमानमा देश छाड्न चाहने नागरिकहरुप्रतिको दुर्व्यवहारको कारणले गर्दा संशयको घेराभित्र छ । यो गम्भीर मोडमा सार्कको अध्यक्षको हैसियतमा नेपालले यस क्षेत्रमा स्थिरताको लागि महत्वपूर्ण भूमिका खेल्न सक्छ ।
हामी नेपाल सरकारलाई अफगानिस्तानको राजनैतिक घटनाक्रमले उत्पन्न चुनौतिहरुलाई सम्बोधन गर्न तुरुन्तै सरोकारवाला देशहरुसँग वार्ताको लागि आवश्यक पहल गर्नको लागि आग्रह गर्दछौं ।