बहिरा बालबालिकाको लागि आधुनिक विद्यालय र बस दिने: मेयर सिंह
वीरगञ्ज, १६ जेठ
वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बहिरा विद्यार्थीका लागि आउजाउ गर्न यात्रुवाहक बसको व्यवस्था मिलाउने बताउनुभएको छ ।
वीरगञ्जमा आजदेखि सुरु सरोकारवालाहरुका लागि १० दिने आधारभुत सांकेतिक भाषा तालिमको उद्घाटन गर्नुहुँदै उहाँले बहिरा विद्यार्थीहरुको आवागमन सहज बनाउन यातायातको प्रबन्ध मिलाउने बताउनुभएको हो ।
महानगर क्षेत्रमा २ सय जना बहिरा विद्यार्थी रहेको भन्दै उहाँले उनीहरुको शिक्षाको प्रबन्ध महानगरले गरिरहेको पनि बताउनुभयो ।
अहिले पठन पाठन भइरहेको स्थानबाट सारेर अर्को स्थानमा सुविधासम्पन्न विद्यालय बनाउने काम अघि बढाइएको भन्दै उहाँले बहिरा बालबालिकाहरूको उज्ज्वल भविष्यको लागि सबै एक जुट भएर काम गर्नुपर्ने बताउनुभयो ।
बहिराहरुको विचार भावना बुझ्न सकियोस भनेरै महानगरले सांकेतिक भाषाको तालिमका लागि सहयोग गरेको पनि उहाँले बताउनुभयो ।
तालिममा १५ जना महिला पुरुषको सहभागिता रहेको छ ।
पर्सा बहिरा संघकी उपाध्यक्ष समिक्षा सापकोटाको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा महानगरका शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्ण, बहिरा संघ पर्साका अध्यक्ष सगुन श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजिकरण अर्चना कर्णले गर्नुभएको थियो ।