घुस माग्ने पर्साका नापी प्रमुख श्रेष्ठ २ घण्टा सीडीयोको नियन्त्रणमा
वीरगञ्ज, २० बैशाख/
जिल्ला प्रशासन कार्यालय पर्साले नापी कार्यालय पर्साका प्रमुख नारायण श्रेष्ठलाई २ घण्टा नियन्त्रणमा लिएको छ ।
वीरगञ्ज महानगरपालिका भित्रका सार्वजनिक ऐलानी जग्गा नाप जाँच गर्न प्रमुख जिल्ला अधिकारीकै रोहबरमा बसेको बैठकले गरेको निर्णय अनुसार काम गर्न आलटाल गर्नुका साथै घुस(आर्थिक लाभ) माग गरेपछि नापी प्रमुख श्रेष्ठलाई २ घण्टा नियन्त्रणमा राखिएको हो ।
वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले जिल्ला प्रशासन कार्यालयमा भएको निर्णय बमोजिम जग्गा नापजाँच गरिदिन पटक पटक आग्रह गर्दा पनि नापी प्रमुख श्रेष्ठले अटेर गर्दै आएका थिए । महानगर प्रमुख सिंहले प्रमुख जिल्ला अधिकारीलाई काम गर्न आलटाल गरेको र घुस माग गरेको जानकारी दिएसँगै नापी प्रमुख श्रेष्ठलाई २ घण्टा नियन्त्रणमा राखेको हो ।
नापी प्रमुख श्रेष्ठले आम सेवा ग्राहीलाई पनि दुःख दिने, घुस माग गर्ने गरेको सूचना आफूसँग आएको र महानगर प्रमुखले नै यसबारे जानकारी गराएपछि आफूले नापी प्रमुख श्रेष्ठलाई नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताउनुभयो ।
महानगर प्रमुखले भनेको काम गर्न विभिन्न बहाना बनाउने श्रेष्ठले आम सर्वसाधारण सेवाग्राहीलाई झनै झुलाउने गरेको यसैबाट बुझ्न सकिने उहाँ बताउनुहुन्छ ।
नापी प्रमुखलाई २ घण्टा नियन्त्रणमा लिएको र महानगर प्रमुखसँग सहमति भए पछि छाडिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । महानगर अन्तर्गतको नगर विकासको जग्गामा रहेको सडकको नापजाँच १ हप्ता भित्रमा सक्ने सहमति पछि नापी प्रमुख श्रेष्ठलाई छाडिएको छ ।
आउँदा दिनमा सेवाग्राहीलाई झुलाउने र दुःख दिने प्रवृत्ति नदोहोर्याउने कागज बनाएर श्रेष्ठलाई छाडिएको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताउनुभयो ।
यता महानगर प्रमुख सिंहले नापी प्रमुखले प्रमुख जिल्ला अधिकारीकै रोहबरमा भएको निर्णय बमोजिम काम गर्न आलटाल गरेपछि कारबाहीका लागि आाफूले प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराएको बताउनुभयो ।