सुदूरपश्चिममा औद्योगिक ग्राम स्थापनाका लागि सम्भाव्यता अध्ययन
कञ्चनपुर : सुदूरपश्चिम प्रदेशमा ‘एक स्थानीय तह, एक औद्योगिक ग्राम’ कार्यक्रमअन्तर्गत २१ उद्योग स्थापना गरिने भएको छ। औद्योगिक ग्राम स्थापनाका लागि सम्भाव्यता अध्ययनको काम अगाडि बढाइएको छ।
स्थानीय तहको समन्वयमा श्रेष्ठ इसिएन एलइसी जेभी परामर्शदाता कम्पनीले सम्भाव्यता अध्ययनको काम सुरु गरेको हो। प्रदेशका नौमध्ये आठ जिल्लामा उद्योग स्थापना गर्न सम्भावना रहेका स्थानीय तहमा पुगेर जग्गाको अवस्थाका बारेमा जानकारी लिने काम गरिएको कम्पनीका परामर्शदाता डिल्लीराज अधिकारीले बताए।
दार्चुलादेखि कञ्चनपुरसम्म पुगेर औद्योगिक ग्राम स्थापनाका लागि सम्भाव्यता अध्ययन गरेको उनले बताए। स्थानीय तहले जग्गाको व्यवस्था गरी सम्पूर्ण विवरण पठाएमा उद्योग तथा वाणिज्य मन्त्रालयले औद्योगिक ग्राम घोषणा गर्ने उनको भनाइ छ।
कञ्चनपुरमा चार, कैलालीमा छ, डडेलधुरामा तीन, दार्चुलामा दुई, बैतडीमा एक, बझाङमा एक, अछाममा दुई र डोटीमा दुई औद्योगिक ग्राम स्थापना गर्ने लक्ष्य लिइएको उनले जानकारी दिए। कञ्चनपुरको शुक्लाफाँटा, कृष्णपुर, भीमदत्त र दोधरा चाँदनी नगरपालिकामा औद्योगिक ग्राम स्थापनाका लागि सम्भाव्यता अध्ययन गरिएको छ। एउटा औद्योगिक ग्राम स्थापनाका लागि ९४ लाख रुपैयाँ लागत अनुमान गरिएको छ