Publi Readers
All about truth & reality in surrounding & in universe.

पाथिभरा ट्रान्सपोर्टमा प्रहरीको छापामारी, प्रक्रिया मिची बलजफ्ती गरेको ट्रान्सपोर्ट एशोसिएसनको आरोप

212

बीरगन्ज । राजस्व अनुसन्धान कार्यालय पथलैयाले वीरगंजको माँ पाथिभरा ट्रान्सपोर्टमा गरेको छापामारीप्रति ट्रान्सपोर्ट एशोसिएसन वीरगंजले आपत्ति जनाएको छ ।
एशोसिएसन वीरंगंजका अध्यक्ष बालकृष्ण बस्नेतले आदर्शनगर स्थित श्री माँ पाथिभरा ट्रान्सपोर्टमा गरिएको छापामारीको प्रक्रिया र नियम विपरीत गरेको जनाएको छ । वडा प्रहरी कार्यालय वीर्ताले रातिको १२ बजे आएर ताल्चा लगाएको र तेश्रो दिनमा आएर आफ्नो मनोमानी रुपमा ताल्चा खोली छापामारी गरेकोप्रति एशोसिएसनले गम्भिर ध्यानाकर्षण भएको अध्यक्ष बस्नेतले बताए ।
राजस्व छलिलाई नियन्त्रण गर्न अनुसन्धान गर्नु राम्रो पक्ष हो तर नियम र प्रक्रिया मिचेर बलजफ्ती गर्नु आपत्तिजनक भएको बताए ।

उनले माघ १ गते राति १ बजे प्रहरीले ट्रान्सपोर्टमा लोड भइरहेको ट्रकबाट सामान झारेर गोदाममा बिलबिजक अनुसार चेकजाँच गरेको र पछि गोदाम सिल गरेकोमा आपत्ति जनाए । उनले गोदाम सिल गर्दा प्रहरीले प्रक्रिया पूरा नगरेको आरोप लगाए । जिल्ला प्रशासन कार्यालय, वाणिज्य कार्यालय, उद्योग वाणिज्य संघ, स्थानीय जनप्रतिनिधि लगायतको रोहबरमा शिल गर्नुपर्नेमा सो नगरिएको र शिल खोल्दा पनि प्रहरी एक्लैले खोलेकोले प्रक्रियागत त्रुटि रहेको बताए ।
राजस्व अनुसन्धान कार्यालय पथलैयाले भन्सार छलीको आशंकामा वीरगंज – १० आदर्शनगर स्थित श्री माँ पाथिभरा ट्रान्सपोर्टमा छापामारी गरि ठूलो परिमाणमा सामान नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा राजस्व अनुसन्धान कार्यालयले छापामारी गरि राजस्व छलिको आशंकामा करिब १५ देखि २० लाखसम्मको सामान छानविनको लागि नियन्त्रणमा लिएर राजस्व कार्यालय पथलैया लगेको हो ।
ट्रान्सपोर्ट संचालक राजेश मल्लिकले प्रहरीले बिज बिजक भएको सामान पनि राजस्व अनुसन्धान कार्यालय पथलैयामा पठाएको बताए । उनले गोदाममा नेपालमा उत्पादित वस्तुहरू र केही मात्रामा भारतमा उत्पादित बस्तुहरु पनि थियो तर त्यसको बिज बिजक पनि थियो, सो समेत राजस्व अनुसन्धान पठाएकोमा आपत्ति जनाए । उनले प्रहरीको यो कार्य दुःख दिने मात्र भएको आरोप लगाए । आफ्नो गोदाममा रहेका सामानहरू विभिन्न व्यक्ति, सँस्थाको रहेको र उनीहरूले बिल, भन्सार प्रज्ञापन सबै दिएकोमा त्यो पनि प्रहरीले अनुसन्धान नगरी सिधै पठाउको बताए ।

Leave A Reply

Your email address will not be published.