देशलाई गम्भीर दुर्घटनाबाट जोगाउन सत्तासाझेदारी गठबन्धन गरेँ : प्रचण्ड
चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकलाई गम्भीर दुर्घटना हुनबाट जोगाउन सत्तासाझेदारी गठबन्धन गरेको दाबी गरेका छन् । संघर्षबाट आएको लोकतान्त्रिक संविधान विरुद्ध षड्यन्त्र भएको भन्दै त्यसलाई जोगाउन आफूले सम्पूर्ण तागत लगाएको अध्यक्ष प्रचण्डले दाबी गरे ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई अँध्यारो सुरुङमा हाल्न खोजेको आरोप लगाउँदै त्यसका विरुद्ध आफूले सम्पूर्ण तागत लगाएको उनको भनाइ थियो । एकपटक संसद विघटन गरेर षड्यन्त्र भएको बताउँदै लोकतान्त्रिक दलहरुबीच गठबन्धन गरेर दुर्घटना हुनबाट जोगाएको प्रचण्डको भनाइ छ ।
भरतपुर महानगरपालिले निजी क्षेत्रको सहकार्यमा निमार्ण गर्न लागेको भरतपुर मेट्रो प्लाजाको बुधबार शिलान्यास गर्दै अध्यक्ष दाहालले जनताको साथले प्रतिगमन परास्त गरेको बताए । ‘कहिले शान्तिपूर्ण कहिले शसस्त्र संघर्ष गरेर हजारौंको बलिदानपछि पाएको संविधान, संघीय लोतान्त्रिक गणतन्त्र, समावेशिता, समानुपातिकता उल्टाउने देशलाई दुर्घटनामा लैजाने षड्यन्त्र भयो’, उनले भने, ‘नेपाली जनतालाई भूमरीमा पार्ने षड्यन्त्र हो भनेर आफू भित्रको सम्पूर्ण तागत लगाएर देशव्यापी अभियानमा लागेको थिएँ ।’
पार्टी एक हुँदा आफैँले प्रधानमन्त्री केपी ओली आफूप्रति धेरै नकारात्मक भएको पनि उनले बताए । ओलीले चालेको प्रतिगमनको बाटोलाई अदालतले पहिलोपटक संसद पुनस्र्थापना गरेर गलत भनेपछि पनि फेरि विघटन गरेर षड्यन्त्र गरेको पनि प्रचण्डले बताए । उनले भने, ‘प्रतिकूल परिस्थिति हुँदाहुँदै जनताको साथ रह्यो, अब विकासलाई गति दिएर नयाँ परिस्थिति बनाउने कोसिस हाम्रो हुनेछ ।’ ‘निर्वाचनपछिको अवधि मिठो रहेन हाम्रा लागि । नारायणी र राप्तीमा तटबन्ध गर्ने, रिङरोड बनाउने, माडी जाने बाटोमा ओभर ब्रिज बनाउने वा अण्डरग्राउण्ड लैजान, पाँच वर्षभित्रमा सबै बाटो पिच गर्ने जस्ता सबै किसिमका विकासलाई गति दिने भनेर संकल्प गरेका थियौँ । बडो मुश्किलले मात्रै यति भयो’, उनले भने ।
‘आफ्नै पार्टीको सरकार थोरै भए पनि चितवनप्रति सकरात्मक भएको भए धेरै क्रान्तिकारी रुपमा विकासका आयोजना अघि बढ्ने थियो’, उनले भने, ‘पीडाका साथ भनिरहेको छु । आफैँले बनाएको प्रधानमन्त्री चितवन र मप्रति पूर्वाग्रही बने ।’
मकवानपुरको हेटौंडादेखि नवलपुरको दाउन्नेसम्मको भूभागको विकास गर्न विकास प्राधिकरण बनाउने आफ्नो सपना रहेको प्रचण्डले बताए । यस भूभागलाई समेटेर विकास प्राधिकरणको अवधारणाअन्तर्गत पर्यटन, शिक्षा र कृषिको क्षेत्रमा वृहत्तर रुपमा विकास गर्न सकिने उनको भनाइ छ ।
आफ्नी छोरी रेणु दाहालले नेतृत्व गरेको भरतपुर महानगरपालिकाले भ्रष्टाचार र अनियमितता नियन्त्रणमा उदाहरणीय काम गरेको उनले बताए । काठमाडौँ महानगरको बेरुजु एक अर्बमाथि हुँदा भरतपुरमा जम्मा १० करोड भएको भन्दै उनले महानगर नेतृत्वको प्रशंसा गरे ।
मेट्रो प्लाजा निर्माण गर्न महानगरले आर्या बिल्डर्स एण्ड इन्जिनियरिङ प्रालीलाई महानगरको स्वामित्वमा रहेको लायन्सचोक पुरानो सब्जीमण्डीको ११ कठ्ठा पौने धुर जग्गा भाडामा दिएको हो । मेट्रो प्लाजा निर्माण गर्न जग्गा भाडामा दिने र ३० वर्षपछि लिने विषयमा महानगर र आर्या बिल्डर्स बीच साउन २४ गते सम्झौता भएको छ ।
सम्झौताअनुसार तीन वर्षमा मेट्रो प्लाजा निर्माण गरिसक्नुपर्छ । दुई वटा बेसमेन्ट पार्किङसहित १६ तलाको हुने मेट्रो प्लाजामा पाँच तारे होटल, सिनेमा हल, बैंक, मिटिङ तथा कन्फ्रेन्स हल, फुड कोर्ट लगायतका व्यवसाय सञ्चालन हुने सम्झौतामा उल्लेख छ ।