निर्वाचन निर्देशिकाको दोहोरो मापदण्ड हटाउन पौडेल पक्षको माग, जिल्ला सभापतिको अनशनमा ऐक्यबद्धता
९ भदौ काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले क्रियाशील सदस्यता तत्काल सार्वजनिक गर्नुपर्ने माग गरेको छ । पौडेल समूहका नेताहरुको बुधबार बिहान बसेको बैठकले क्रियाशील सदस्यता सार्वजनिक गर्न माग गरेको हो ।
पौडेल निकट जिल्ला सभापतिहरुले पनि सोही माग राख्दै पार्टी कार्यालय सानेपामा धर्ना र अनशन सुरु गरेका छन् ।
पूर्वमहामन्त्री प्रकाशमान सिंह निवास चाक्सीबारीमा बुधबार बसेको पौडेल समूहका नेताहरुको बैठकले जिल्ला सभापतिको मागमा ऐक्यवद्धता जनाएका हुन् । ‘क्रियाशील सदस्यता सूचीमा आफ्नो नाम परेको छ कि छैन भनेर देशभरका कांग्रेस नेता कार्यकर्ताले थाहा पाउनुपर्छ,’ बैठकपछि नेता अर्जुननरसिंह केसीले भने, ‘यो हरेक क्रियाशील सदस्यको अधिकारको कुरा हो । क्रियाशील सदस्यता सूची तत्काल सार्वजनिक गरिनुपर्दछ ।’
उनका अनुसार बैठकले जिल्ला सभापतिको उम्मेदवारका लागि निर्वाचन निर्देशिकामा उल्लेखित दोहोरो मापदण्ड हटाउनुपर्ने माग गरेको छ । कांग्रेसले एउटा मात्रै निर्वाचन क्षेत्र भएको जिल्लामा क्षेत्रीय प्रतिनिधि जिल्ला सभापति बन्न पाउने व्यवस्था गरेको छ । तर पार्टी विधानमा भने महाधिवेशन प्रतिनिधि मात्रै सभापति उम्मेदवार बन्ने व्यवस्था छ ।
नेता केसीले भदौ १८ गते देशभरका सबै वडामा अधिवेशन हुनुपर्नेमा जोड दिएको छ । ‘त्यो दिन आंशिक रुपमा मात्रै वडा अधिवेशन गर्ने कुरा सुनिएको छ । यदि यो सत्य हो भने हामी विरोध गर्छाैं,’ उनले भने, ‘भदौ १८ गते सबै वडामा अधिवेशन हुनुपर्छ ।’ पौडेल समूहले जिल्ला सभापतिको धर्ना र अनशनमा ऐक्यवद्धता जनाएको छ ।
बैठकमा वरिष्ठ नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, डा. शेखर कोइराला, बलबहादुर केसी, डा. मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडुलगायत छन् ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवाले निर्वाचन समितिलाई सदस्यता सूची बुझाएलगत्तै सार्वजनिक गरिने बताएका छन् । कांग्रेसको १४ औं महाधिवेशन मंसिर दोस्रो साता गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । तर कांग्रेसले अझै क्रियाशील सदस्यतालाई अन्तिम रुप दिन सकेको छैन ।