Publi Readers
All about truth & reality in surrounding & in universe.

ओलीले एकता नचाहेको माधव नेपालको निष्कर्ष : जबजलाई मानेर अघि बढ्ने घोषणा

266

नेकपा (एकीकृत समाजवादी) पार्टीका संयोजक माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीका कारण एमाले विभाजित भएको निश्कर्ष निकालेका छन् । १० बुँदे प्रस्तावका आधारमा एकता प्रक्रियामा सामेल हुन एमालेकै तेस्रो धारका नेताहरूले आग्रह गरिरहेका बेला नेता नेपालले ओलीकै कारण एमाले विभाजनको अवस्थामा पुगेको बताएका हुन् । नेता नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीले बुधबार निर्वाचन आयोगबाट मान्यता पाउँदैछ ।

नेता नेपालको पार्टी नेकपा समाजवादीको घोषणापत्रमा नेता नेपालले तत्कालीन नेकपालाई सर्वोच्च अदालतले मान्यता नदिएर नेकपा एमाले र माओवादी केन्द्रलाई पूर्ववत् अवस्थामा फर्काइदिए पनि अध्यक्ष ओलीले जेठ २ को एमाले केन्द्रीय कमिटी बैठक नबोलाई ‘केन्द्रीय कमिटीको विशेष बैठक’ नाम दिएर आफ्नो पक्षको मात्र बैठक बोलाएर नवौँ महाधिवेशनका निर्णयहरू उल्ट्याइ पार्टी विभाजन गर्न खोजेको बताएका छन् ।

‘पार्टी अध्यक्षको जिम्मेवारीमा रहेका केपी ओलीले त्यस्तो पहल गर्नुपर्दथ्यो, तर त्यस्तो पहल नगरी केन्द्रीय कमिटीको विशेष बैठक भन्ने नाम दिएर पार्टीभित्रको आफ्नो पक्षको मात्र बैठक बसी नेकपा एमालेको नवौँ महाधिवेशनका निर्णयहरू उल्ट्याउने, महाधिवेशनबाट पारित विधान संशोधन गर्ने, महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरूको पद खारेज गर्नेजस्ता निर्णयहरू गरी नेकपा एमालेलाई विभाजन गरिदिए’, नेता नेपाल नेतृत्वको पार्टी नेपाल कम्युनिस्ट पार्टी(एकीकृत समाजवादी ) को घोषणापत्र २०७८ मा भनिएको छ ।

नेता नेपालले आफ्नो पार्टीको रणनीतिक लक्ष्य लोकतान्त्रिक मूल्य मान्यतासहितको वैज्ञानिक समाजवाद भएको पनि घोषणापत्रमा दाबी गरेका छन् ।

‘यो पार्टी संविधानको सर्वोच्चता, विधिको शासन, मानवअधिकार एवं मौलिक हकको प्रत्याभूति, शक्ति पृथकीकरणको सिद्धान्त, बहुलवादी खुला समाज, बहुदलीय प्रतिस्पर्धा,आवधिक निर्वाचन, जननिर्वाचित प्रतिनिधिद्वारा सरकार सञ्चालन, प्रतिपक्षको संवैधानिक व्यवस्था र स्वतन्त्र न्यायपालिका जस्ता आधुनिक लोकतन्त्रका विश्वव्यापी मूल्यमान्यतामा प्रतिबद्ध रहेको छ’ नेता नेपाल नेतृत्वको समाजवादी पार्टीको घोषणापत्रमा भनिएको छ, ‘जनताको बहुदलीय जनवादका मूल्यमान्यताहरुको रक्षा र थप विकास गर्दै समाजवादको दिशामा अगाडि बढ्न चाहन्छ ।’

त्यस्तै, नेता नेपालको पार्टीले पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद लेनिनवादलाई नै बनाएको छ । सो पार्टीले मार्क्सवादलाई कुनै जडसुत्र नभएर गतिशील वैज्ञानिक सिद्धान्त भएको पनि जनाएको छ ।

‘नेपालमा मार्क्सवादको प्रयोगको प्रयासका प्रारम्भकर्ता कमरेड पुष्पलालले नै मार्क्सवादको सिर्जनात्मक प्रयोग गर्ने विचार प्रस्तुत गर्नुभएको थियो र जननेता मदन भण्डारीले जनताको बहुदलीय जनवादमा त्यसको सविस्तार व्याख्या गर्नुभएको थियो’, नेता नेपालले घोषणा पत्रमा भनेका छन् ।

नेकपा (एकीकृत समाजवादी) नेता प्रधान नभई नीति प्रधान हुने पनि घोषणा पत्रमा दाबी गरिएको छ ।

‘यो पार्टी नेता प्रधान होइन, नीति प्रधान हुनेछ । पार्टीमा सामूहिक नेतृत्व र व्यक्तिगत उत्तरदायित्वको कार्यपद्दति अवलम्वन गरिनेछ’, १० बुँदे घोषणापत्रको १० नम्बर बुँदामा भनिएको छ ।  

प्रस्तावित विधानमाथि मंगलबार छलफल भएर पारित गर्ने तयारी छ । त्यसका लागि सो पार्टीका नेताहरु सोमबारबाटै चनद्रागिरीमा आवासीय बैठक बसिरहेका छन् ।

Leave A Reply

Your email address will not be published.