उपत्यकाभित्रका प्रमुख जिल्ला अधिकारीको बैठक आज बस्दै, निषेधाज्ञा थप्ने तयारी
काठमाडौँ : काठमाडौं उपत्यकामा निषेधाज्ञाको अवधि थप गर्न तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठक मंगलबार बस्दै छ। निषेधाज्ञाको अवधि थप गर्ने निर्णय गर्न आज तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बस्न लागेको हो ।
बैठक दिउँसो १ बजे बस्ने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । उनका अनुसार आजको बैठकले निषेधाज्ञा एक हप्ता थप्ने तयारी गरेको छ । निषेधाज्ञाको स्वरूपबारे अहिले नै भन्न नसकिने उनले बताए ।
प्रमुख जिल्ला अधिकारीको बैठक बस्नुअघि जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठक बोलाइएको छ। डिसिसिएमसीमा भएका निर्णयलाई समेत मध्यनजर गर्दै निषेधाज्ञा बारे निर्णय लिने पराजुलीले जानकारी दिए। ‘पछिल्लो राजधानीमा कोभिडको अवस्था कस्तो छ? अब कस्तो हुने देखिन्छ विभिन्न विज्ञहरूको सुझाव लिएर निषेधाज्ञाको मोडिलाटी बनाउँछौँ,’ उनले भने।
यसअघि थप भएको निषेधाज्ञामा राति ८ बजेपछि निजी तथा सार्वजनिक सवारीलाई गुड्न रोक लगाइएको थियो। अहिले पनि काठमाडौं उपत्यकाभित्र दैनिक ५ सय भन्दाबढी सङ्क्रमित थपिरहेका छन् । काठमाडौं उपत्यकाभित्र सङ्क्रमण बढ्न थालेपछि वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको हो ।
जारी स्वरूपअनुसार राति ८ बजेपछि निजी वा सार्वजनिक दुवै खालका सवारीसाधन चलाउन पाइँदैन । यसअघि घोषित निषेधाज्ञाको अवधि आज राति १२ बजेबाट सकिँदै छ।