पौडेल समुहका जिल्ला सभापतिहरुको धर्ना कांग्रेस मुख्यालय सानेपामा
काठमाडौँ : क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्नुपर्ने माग राख्दै नेपाली कांग्रेसको संस्थापनइतर जिल्ला सभापतिहरू धर्नामा बस्ने भएका छन् । आजदेखि केन्द्रीय कार्यालय सानेपामा उनीहरू धर्नामा बस्न लागेका हुन् ।
आज बिहान ११ बजेबाट धर्ना सुरु हुने कांग्रेस सिन्धुपाल्चोकका सभापति विकास लामाले जानकारी दिए । क्रियाशील सदस्यताको सूची सार्वजनिक नभएसम्म धर्नासहित अरू संघर्षका कार्यक्रम गरिने लामाले बताए । पौडेल समुहका जिल्ला सभापतिहरुले विधिसम्मत ढंगले क्रियाशील सदस्यता सूचीको त्रुटि सच्याएर सार्वजनिक गर्न दिएको अल्टिमेटम सकिएको छ ।
यसअघि जिल्ला सभापतिहरुले यही साउन ७ गतेभित्र क्रियाशील सदस्यता सूची सार्वजनिक गर्नुपर्ने, विधि विधान र मापदण्डअनुसार छानबिन गरी सदस्यता सूचीलाई अन्तिम रुप दिनु पर्ने र सबै जिल्ला सभापतिको निर्वाचन प्रक्रियामा एकरुपमा आउने गरी निर्वाचन निर्देशिका संशोधन गर्नुपर्ने माग राखेका थिए ।
क्रियाशील विवाद समाधानको नाममा नियमविपरीत क्रियाशील थप्ने र आफ्ना विरोधीहरूलाई हटाउने काम गरिएको भन्दै संस्थापनइतर समूहका जिल्ला सभापतिहरूले विरोध गरेका छन् । क्रियाशील सदस्यता विवादका कारण नेता, कार्यकर्ताहरु यसअघि पनि धर्नामा बस्दै आएका थिए ।