Publi Readers
All about truth & reality in surrounding & in universe.

जसले राष्ट्रिय क्रिकेट टिमको जर्सी डिजाइन गरेर जिते एक लाख

255

नेपाली राष्ट्रिय टिमको जर्सीको डिजाइन नियमअनुसार नभएको भन्दै गत वैशाखमा व्यापक विरोध भएको थियो।

राष्ट्रिय टिमले लगाउने जर्सीको रंग र ढाँचाबारे क्यानको बोर्ड बैठकमा छलफल नभएको तथा नेपाली टिमले सुरूआतबाटै प्रयोग गर्दै आइरहेको रंगसमेत परिवर्तन गरिएको भन्दै क्यानका केन्द्रीय सदस्य छुम्बी लामाले सार्वजनिक रूपमै असन्तुष्टि पोखेका थिए।

तर नेपाली राष्ट्रिय टिमले सोही जर्सी लगाएर नेदरल्यान्ड्स र मलेसियाविरूद्धको टी-२० सिरिज खेल्यो।

सिरिजपछि पनि जर्सीको डिजाइनमा प्रश्न उठेपछि नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टिमको जर्सी डिजाइन गर्नका लागि प्रतिस्पर्धा खुला गर्ने निर्णय गर्‍यो। 

क्यानले जेठ ३१ गते सामाजिक सञ्जालमार्फत् जर्सी डिजाइनमा सहभागी हुन सर्वसाधारणलाई आह्वान गर्‍यो। उत्कृष्ट डिजाइन गर्नेलाई १ लाख रूपैयाँ नगद पुरस्कार दिने पनि घोषणा गरिएको थियो। 

क्यानको फेसबुक पेजमा आएको उक्त सूचनामा जावलाखेलका आदर्श पोख्रेलको आँखा पर्‍यो। 

‘एक क्रिकेटप्रेमी भएको नाताले क्यानले निकालेको सूचनामा ध्यान गयो,’ पोख्रेलले सेतोपाटीसँग भने,’अझ क्रिएटिभ एक्जुकेटिभको रूपमा ८-९ वर्षदेखि काम गरिरहेकाले झन् रूची बढ्यो।’

उनी आइडिया सप नामक संस्थासँग आबद्ध छन्। 

नेपाली राष्ट्रिय टिमको जर्सी डिजाइन गर्ने सोच बनाएसँगै उनले कस्तो बनाउने भन्ने सोच्न थाले। त्यसै अनुरूप अवधारणा बनाउन थाले। 

‘डिजाइनको कन्सेप्ट बनाउनका लागि चार दिन लाग्यो,’ उनले भने,’त्यसपछि दुई-तीन डिजाइनको काम गरेर एक सातामा जर्सी तयार गरेँ।’ 

जर्सी डिजाइन गर्नुअघि उनले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को जर्सीसम्बन्धी नियमको अध्ययन गरेका थिए। सोही नियममा बाँधिएर उनले जर्सी डिजाइन गरेका हुन्। 

उनले जर्सीमा नेपालको झण्डाको रातो र निलो रंगको संयोजन गरेका छन्। निलो रंगमा पनि गाढा निलो प्रयोग गरिएको छ। 

जर्सीको अगाडिपट्टिको दायाँ भागको तल गैंडा राखिएको छ भने बायाँ भागमा सगरमाथा रहेको छ। यस्तै माथि एक काँधमा सूर्य र अर्को काँधमा चन्द्र राखिएको छ। पछाडिपट्टिको भागमा कोठाहरू छन्।  

‘जर्सीमा गैंडामा पनि प्रयोग भएको छ। क्यानको लोगोमा रहेको गैंडा पहिलो पटक जर्सीमा प्रयोग भएको जस्तो लाग्छ। पछाडि पट्टि कोठाहरू छन्। जसले नेपालको विविध धर्म, संस्कृति परम्परालाई संकेत गर्छ। विविध भए पनि हामी एउटै हौं भन्ने खोजेको हो,’ पोख्रेलले जर्सीको बारेमा भने। 

उनले यो जर्सी डिजाइन गरेको करिब डेढ महिना अघि हो। पोख्रेलको जस्तै ५ सय बढी जर्सीका डिजाइन क्यानमा प्राप्त भएका थिए। ती जर्सीको सुरूमा क्यानले गठन गरेको छनोट समितिले सर्टलिस्ट गरेको थियो। 

चार सदस्यीय छनोट समितिमा क्यानका केन्द्रीय सदस्य छुम्बी लामा, जिएम रौनक मल्ल, क्रिकेट म्यानेजर विनोद दास र प्रायोजकका एक प्रतिनिधि थिए।

समितिले पाँच सय जर्सीको डिजाइनमध्ये पोख्रेलको डिजाइनलाई मन पराउँदै छनोट गरेको हो।

करिब डेढ महिनाअघि डिजाइन गरेको जर्सीको नतिजा चाँडै नआउँदा पोख्रेलले आफ्नो डिजाइन छनोट नभएको सोचेका थिए। तर डेढ महिनापछि आफू विजेता बनेको सुन्दा उनमा खुसीको सीमा रहेन। 

‘मैले डिजाइन गरेर पठाएको डेढ महिना भइसकेको थियो। डिजाइन गरेको केही सातासम्म कुनै खबर नआउँदा मेरो जर्सी छनोट भएन भन्ने सोचेको थिएँ,’ उनले सुनाए। साम्भार—सेतोपाटी

Leave A Reply

Your email address will not be published.