वार्ता र सहमतिको भ्रममा नपरौं, विद्रोह गरौँ : माधव नेपाल
काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत समाजवादी ) का अध्यक्ष माधव कुमार नेपालले ओलीको जालझेलमा नफस्न र विद्रोहमा उत्रिन एमाले नेता कार्यकर्तालाई आह्वान गरेका छन् । उनले वार्ता र सहमतिको भ्रममा नपर्न र कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गर्ने काममा दृढतापूर्वक उभिन पार्टी पंक्तिलाई अपिल गरेका हुन ।
उनले भने, ‘कम्युनिस्ट आन्दोलनलाई विसर्जन हुनबाट जोगाउनका निम्ति हामीले कठोर कदम चाल्नुपर्ने स्थिति उत्पन्न भएको छ । नेकपा (एमाले) को पुनर्गठन एवम् रूपान्तरण गर्दै नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा गर्ने उद्देश्यले विकल्पको बाटो रोज्नुपर्ने बाध्यकारी अबस्था सिर्जना भएको छ।’
पटक-पटकका बेइमानी एवम् धोखाधडीको निरन्तरता स्वरूप नै ‘वार्ता र सहमति’ का भ्रमपूर्ण समाचारहरू सार्वजनिक भएको उनको भनाइ छ । ‘नयाँ कम्युनिष्ट पार्टी दर्ताको प्रक्रिया अगाडि बढिरहेको सन्दर्भमा पटक पटकका बेइमानी एवम् धोखाधडीको निरन्तरता स्वरूप नै ‘वार्ता र सहमति’ का भ्रमपूर्ण समाचारहरू सार्वजनिक भएका छन्,’ नेता नेपालले सामाजिक सन्जालमा लेखेका छन्, ‘यस प्रकारका छलकपटपूर्ण समाचारबाट भ्रममा नपरी हाम्रो पार्टी एवम् नेपालको कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गर्ने काममा दृढतापूर्वक उभिन सम्पूर्ण पार्टी पंक्ति, न्यायप्रेमी एवम् क्रान्तिकारी जनसमुदायमा हार्दिक अपिल गर्दछु ।’
एमाले अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका बेला नेपालले उक्त धारणा सार्वजनिक गरेका हुन् । कम्युनिष्ट आन्दोलन र संस्कृतिको रक्षा, मुलुकको समृद्धि एवम् जनतालाई खुसी प्रदान गर्ने लक्ष्य सहित नयाँ कम्युनिष्ट पार्टी दर्ताको प्रक्रिया अगाडि बढिरहेको उनको भनाइ छ । नयाँ कम्युनिष्ट पार्टी दर्ताको प्रक्रिया अगाडि बढ्नुलाई उनले दक्षिणपन्थी विसर्जनवाद, विकृती, अन्याय र विसंगतिका विरूद्ध विद्रोह भनेका छन् ।