धार्मिक अतिवाद र आतङ्कवादबाट राष्ट्रिय सुरक्षामा चुनौती
नितेश कर्ण
वीरगन्ज ८ मंसिर
धार्मिक अतिवाद र आतङ्कवादबाट मुलुकलाई जोगाउन सरोकारवालाहरूले आग्रह गरेका छन् । उनीहरूले यी दुवै क्रियाकलापले नेपालको राष्ट्रिय सुरक्षामा चुनौती थप्ने वीरगंजमा आयोजित एक परिचर्चामा बताएका हुन् । ‘नेपालको राष्ट्रिय सुरक्षा र २६/११ मुम्बई हमला’ विषयक परिचर्चाको आयोजना राष्ट्रिय एकता अभियान, पर्साले गरेको थियो ।
धार्मिक अतिवादी सङ्गठन र बाह्य आतङ्कवादी सङ्गठनहरूबाट भारतमा विभिन्न आपराधिक घटना भएको बताउँदै उनीहरूले त्यसतर्फ राज्य गम्भीर हुनुपर्नेमा जोड दिए ।
भारतमा जाली नोट पक्राउ पर्दा नेपालमा बनाएको कुरा आउनु, नेपालबाट भटकल र टुन्डा जस्ता आतङ्कवादी पक्राउ पर्नु र पाकिस्तानबाट नियोजित आदापुर – छौडादानोमा रेल उडाउने जस्ता आतङ्कवादी योजना बारा जिल्लामा समसुलको समूहले लागू गर्न खोज्नु सुरक्षाको लागि ठूलो चुनौतीको रूपमा हेर्नुपर्ने परिचर्चाका वक्ताहरूले बताएका थिए ।
सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले एकअर्कालाई सम्मानजनक हिसाबले व्यवहार गर्नुपर्नेमा जोड दिए । उनले शङ्कास्पद गतिविधि भइरहेको जानकारी प्रहरी प्रशासनलाई गराउन आग्रह गरे ।